Section 128
नेपाल राष्ट्र बैङ्कले सजाय गर्न सक्ने
: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैङ्कले इजाजतपत्र प्रदान गर्दा तोकेको शर्त, समय समयमा जारी गरेको आदेश वा निरीक्षण, सुपरिवेक्षण वा नियमनको क्रममा दिएको कुनै निर्देशनको उल्लङ्घन गर्ने सहकारी बैङ्कलाई देहाय बमोजिम सजाय गर्न सक्नेछ:-
(क)  सचेत गराउने वा लिखित चेतावनी दिने,
(ख)  सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने,
(ग)  बारम्बार हुने उल्लङ्घन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने,
(घ)  कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने,
(ङ)  संस्थाको इजाजतपत्र निलम्बन वा इजाजत रद्द गर्ने ।
(२) सहकारी बैङ्कका सञ्चालक वा कर्मचारीले नेपाल राष्ट्र बैङ्कबाट जारी भएको आदेश, निर्देशन वा इजाजतपत्रको शर्त उल्लङ्घन गरेमा, निरीक्षण तथा सुपरिवेक्षण गर्ने क्रममा माग भएको कागजात, विवरण, तथ्याङ्क वा अभिलेख तोकेको समयभित्र उपलब्ध नगराएमा वा बचतकर्ता वा सदस्यको हित विपरीत काम गर्ने त्यस्तो सञ्चालकलाई नेपाल राष्ट्र बैङ्कले देहाय बमोजिम सजाय गर्न सक्नेछ :–
(क)  सचेत गराउने वा नसिहत दिने,
(ख)  निलम्बनमा राख्ने,
(ग)  पाँच लाख रुपैयाँसम्म जरिबाना गर्ने,
(घ)  तलब, भत्ता, लगायतका सम्पूर्ण सुविधाहरू रोक्का राख्‍न समितिलाई आदेश दिने,
(ङ)  त्यस्तो व्यक्ति सञ्चालक भए पदबाट हटाउन वा कर्मचारी भए त्यस्तो कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून बमोजिम कारबाही गर्न सम्बन्धित समितिलाई आदेश दिने ।
(३) यस दफा बमोजिम कसैलाई सजाय गर्नु पर्दा निजलाई सफाई पेश गर्ने मनासिब मौका दिइनेछ।